
गोरखा, वैशाख १२ । बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको ४ वर्ष बित्दा गोरखा जिल्लामा ७५ प्रतिशतमात्र निजी आवासको पुनर्निर्माण भएको छ ।
भूकम्पमा परि ७१ हजार ५ घर भत्किएकोमा अहिलेसम्म ४९ हजार ७० घरमात्र बनेको पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वय इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
त्यस्तै पुरातात्विक तथा ऐतिहासिक महत्वको गोरखा दरबारको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा एक हजार ४१२ घर भत्किएकोमा अहिले ८० प्रतिशतभन्दा बढी घर बनिसकेको छ ।
भूकम्प अघि ढुङ्गाको छानो र ढुङ्गाकै पर्खाल रहेको परम्परागत बस्ती बारपाकमा पुनर्निर्माण भएकामध्ये धेरैजसो आरसीसी पक्की घर बनेपछि बारपाकको पुरानो स्वरुप नै फेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्