१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


पुनर्निर्माणमा सुस्त गति, प्राधिकरण भन्छ– सोचेअनुसारकै रफ्तार


0
Shares

काठमाडौं, वैशाख १२ । सरकारले महाविनाशकारी भूकम्प गएको पाँच बर्षभित्र ध्वस्त भएका सम्पूर्ण संरचनाको पुनर्निर्माण गरिसक्ने बताएको थियो ।

भूकम्पछिको घाउमा मल्हम लगाउन विश्वभरबाट सहयोग पनि नजुटेको होइन तर त्यसको सही व्यवस्थापन र परिचालन हुन नसक्दा चार बर्षमा पनि पुनर्निर्माणको दिशामा लक्ष्यको नजिक पुग्न सकिएको छैन । निजी आवास, सरकारी भवन र सम्पदाहरुको पुनर्निर्माण तोकिएको समयभित्रै नसकिने भएको छ ।

उता, पुनर्निर्माण प्राधिकरणले भने प्रगति सोचेअनुरुपकै रफ्तारमा अघि बढिरहेको दाबी गरेको छ । प्राधिकरणका अनुसार हालसम्म समग्रमा ६५ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

निजी आवास, शैक्षिक, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानीजस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएकोमा त्यसमध्ये निजी आवासको पुनर्निर्माणलाई सबैभन्दा केन्द्रविन्दुमा राखेर काम गरेको प्राधिकरण बताउँछ । जसका कारण निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको उसको दावी छ । 

अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घर परिवारमध्ये ६ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा रहेका छन् । जसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरी आ–आफ्नो घरभित्र प्रवेश गरिसकेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेको छ । यो तथ्यांकलाई हेर्दा प्राधिकरणले पुनर्निर्माण भइरहेका घरहरुलाई समेत जोडेर ८० प्रतिशत प्रगति पुर्‍याएको देखिन्छ ।

यसैगरी भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति हासिल गरेको प्राधिकरणले बताएको छ । जसमा ५९ प्रतिशत अर्थात ४ हजार ४७६ को पुनर्निर्माण सम्पन्न भइसकेको र १ लाख ७७२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले बताएको छ ।

यस्तै स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल गरेको जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न गरेका र १२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा छन् । पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशतमात्रै उपलब्धी हासिल गरेको प्राधिकरणले बताएको छ । जसमा २२४ वटा अर्थात ३० प्रतिशतमात्रै पुनर्निर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

निर्माण भइरहेका संरचनाहरुसमेत जोडेर ६५ प्रतिशत प्रगति भएको बताउने प्राधिकरणले आफूले धेरै चुनौतीको सामना गर्नुपर्ने निश्कर्ष निकालेको छ । प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौती वित्तीय व्यवस्थापनको देखाएको छ । पुनर्निर्माण र पुनर्स्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल ९ खर्ब ३८ अर्ब रकमको आंकलन गरिएको थियो । जसमध्ये आर्थिक वर्ष ०७४–७५ सम्म कुल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको प्राधिकरणले जनाएको छ ।

यस्तै, सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबाट करिव २ सय अर्ब रुपैयाँ परिचालन हुने अपेक्षा गरेको प्राधिकरणले बताएको छ । यस हिसाबले पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिव ४ खर्ब २९ अर्ब रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले बताएको छ ।