
काठमाडौं, वैशाख ११ । सगरमाथा इन्स्योरेन्स कम्पनीले निर्जीवन बिमा क्षेत्रमा नै पहिलोपटक ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा शुभारम्भ गरेको छ ।
कम्पनीले बुधबार राजधानीमा गरेको एक कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ र कम्पनीका अध्यक्ष आरके मानन्धरले संयुक्तरुपमा यो सेवाको उद्घाटन गरे ।
कम्पनीले पहिलो चरणमा मोटरसाइकलको तेस्रो पक्ष बिमालेख, घर बिमालेख, दुर्घटना बिमालेख र ट्राभलर्स मेडिक्लेम बिमालेखलाई अनलाइन पोर्टलमार्फत् कम्पनीले विकास गरेको मोबाइल एपका माध्यमबाट कम्पनीका ग्राहकहरुलाई यो सेवा दिनेछ ।
यसका लागि कम्पनीका ग्राहकले आफ्नो मोबाइलमार्फत् एप डाउनलोड गरी आफूलाई चाहिएको बिमालेख खरिद गर्नसक्ने गरी इन्स्योरेन्स डिजिटल्ली सेवा सुरु गरेको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए ।
बिमालेखहरुलाई सूचना–प्रविधिमार्फत् बिमा सेवाको पहुँचलाई विस्तार गर्न यो सेवा ल्याएको कम्पनीले जनाएको छ ।
बिमा समितिका अध्यक्ष चापागाइँले नेपाली बिमा क्षेत्र आधुनिक युगमा गएको भन्दै सूचना–प्रविधिले बिमाको बजारलाई थप विस्तार गर्न सहयोग गर्ने बताए ।
कम्पनीका अध्यक्ष मानन्धरले हरेक क्षेत्रमा प्रविधिले फड्को मार्दै आइरहेको भन्दै कम्पनीले पनि प्रविधिको प्रयोगलाई बढावा दिँदै आएको बताए ।
उनले कम्पनीले व्यापारलाईभन्दा सेवालाई बढी प्राथमिकता दिँदै आएको पनि बताए ।
विभिन्न ३५ ओटा योजना ८० ओटा शाखामार्फत् निर्जीवन बिमा सेवा दिँदै आएको कम्पनीले छिट्टै शाखा संख्या १०० पुर्याउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्