३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


‘काठमाडौं उपत्यकाभित्र बन्दको प्रभाव छैन’


0
Shares

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरे पनि काठमाडौँ उपत्यकामा भने खासै प्रभाव परेको छैन ।

काठमाडौँ उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सवारी आवागमन सहज रहेको जानकारी दिए ।

‘उपत्यकामा बन्दको प्रभाव छैन, यद्यपि विभिन्न नाकाबाट बाहिर जाने र भित्रिने सवारीको सङ्ख्यामा भने कमी छ,’ ज्ञवालीले भने ।

उपत्यकामा अहिलेसम्म कुनै घटनासमेत नभएको र सुरक्षा व्यवस्था कडा पारी सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । शङ्कास्पद क्षेत्रमा गस्ती बढाइएको जनाइएको छ ।

काठमाडौँ जिल्लामा भने साविकझैँ सवारी सञ्चालनमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

विभिन्न जिल्लामा भने बन्दको प्रभाव देखिएको र ठाउँठाउँमा नक्कली बम, शङ्कास्पद वस्तु भेटिएको तथा गाडी तोडफोड र आगजनी भएको जानकारी आए पनि विस्तृत विवरण आइनसकेको नेपाल प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

बन्दले विभिन्न राजमार्ग भने सुनसान देखिएका छन् । जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा पारिएको उनले बताए । रासस