
काठमाडौं, साउन २९ । पूर्वगृहमन्त्री तथा महोत्तरी परिवारका संस्थापक सल्लाहकार भोजराज घिमिरेको निधन भएको १३औं दिनको पुन्यतिथिका दिन शनिबार राजधानीमा महोत्तरी परिवारले श्रद्धाञ्जलिसभाको आयोजना गर्यो ।
श्रद्धाञ्जलिसभामा पूर्वप्रधानन्यायाधीश तथा मानवअधिकार आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्यायले भोजराज घिमिरेमा प्रजातान्त्रिक संस्कार रहेको उल्लेख गर्दै गृहमन्त्री हुँदा उनले जनताको हितका लागि काम गरेको बताए ।
अर्का पूर्वप्रधानन्यायाधीश केदार गिरीले भोजराज घिमिरेले उच्चपद धारण गरेपनि आफ्नो जीवनमा कुनै दाग लाग्न नदिएको प्रसंग उल्लेख गरे ।
अर्का पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहले घिमिरेको सरल स्वभाव र स्वच्छ छविले आफूलाई अभिप्रेरित गरेको बताए ।
परिवारका अध्यक्ष किरण विक्रम थापाको सभापतितवमा सम्पन्न श्रद्धाञ्जलि सभामा रामसपा अध्यक्ष शरत्सिंह भण्डारी, नेपाली कांग्रेसका सांसद सिताराम भण्डारी, प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र, प्रा. महेन्द्र नारायण मिश्र, राजनीतिक विश्लेषक सीके लाल, कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे, नेफ्सक्युनका अध्यक्ष ऋषिराज घिमिरे, कृष्णविक्रम थापा, नारायण घिमिरे, डा. विजयकुमार रौनीयारलगायतले भोजराज घिमिरेका विषयमा बोलेका थिए ।
श्रद्धाञ्जलिसभामा स्वर्गीय घिमिरेप्रति समवेदना प्रकट गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्