
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी हिमाल–पहाड, तराई–मधेश जागरण अभियान घोषणा गरिएको हो ।
अभियानको क्रममा केन्द्रीय तहका नेताहरु स्थानीय तहसम्म पुगेर कांग्रेसको नीति अनुरुप जागरण अभियान चलाउने बताइएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न १४ बुँदे उद्देश्य राखी घोषणा भएको अभियान तीन चरणमा हुने जानकारी दिए ।
सरकारको अधिनायकवाददेखि मधेशको माग पूरा गराउने, निर्मला हत्याकाण्डलगायतका घटनाको छानबिन,विपद्मा क्षति पुगेकाहरुको पूनस्थापनामा सहयोग, विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउनेलगायतको विषय जागरण अभियानमा उठाइने उनले बताए ।
जागरण अभियानको पहिलो चरण वैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुने र केन्द्रीय नेताहरु प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने छन् ।
बीपी जयन्तीको अवसर पारेर सुरु हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ ।
तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने र १० दिनसम्म केन्द्रीय नेताहरु बस्ने जनाइएको छ ।
अभियानका क्रममा कांग्रेसले पार्टीको स्थापनाकालदेखि हालसम्मको दस्ताबेज संकलन गर्नुका साथै पुराना नेताहरुको खोजी समेत गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्