
काठमाडौं, साउन ३२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति भएपछि नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया अघि बढेको छ । शीर्ष नेताहरुबीच भएको सहमति पछि दुवै पक्ष निर्वाचनमा होमिएका छन् ।
भागबन्डामा मनोनित गरिएका प्रतिनिधिलाई उपत्यका बाहिरकाट प्रतिनिधित्व गर्ने सहमति देउवा र पौडेल पक्षबीच भएको छ । सहमतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले २ सय १५ र महेन्द्र शर्मा पक्षले १ सय १० प्रतिनिधि भागबण्डामा थपेका छन् ।
उपत्यकाबाट थप भएको प्रतिनिधिलाई अब उपत्यकाबाहिरबाट प्रतिनिधित्व गराइने सहमति भएको छ । यसैगरी फर्जी प्रतिनिधि सच्याउन देउवा पक्ष तयार भएको छ । योसँगै चुनावबाटै नयाँ नेतृत्य चयन हुने निश्चित भएको छ ।
पौडेल पक्षको मागअनुसार निर्वाचन समितिले उम्मेदवारी मनोनयनको समय बढाएर आज ११ बजेसम्मका लागि सारेको छ । केन्द्रीय निर्वाचन समितिले भोली मतदान हुने जनाएको छ ।
नेवि संघको ११ औं महाधिवेशनको उद्घाटन यही साउन २३ गते भएको थियो । तर महाधिवेशन प्रतिनिधिको विवादलाई लिएर बन्दसत्र नै सुरु नगरी नेतृत्व चयनका लागि निर्वाचन गर्न लागिएको हो ।
पार्टीका शीर्ष नेताहरुबीच सहमति भएसँगै आज बिहान ८ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामाग्री वितरण गरिने निर्वाचन समितिले जनाएको छ । यसैबीच नेवि संघको नेतृत्व लिन देउवा र पौडेल दुवै पक्षबाट प्यानल बनाउने प्रयास शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्