Logo १३ भाद्र २०८३, शनिबार | Sun Aug 30 2026


ढुङ्गा प्रहार गरी वृद्धको हत्या


0
Shares

रोल्पा, भदौ ३ । जौलिपोखरी–२ लामीडाँडा रोल्पामा जनसामुदायिक वनको बैठक बसिरहेको बेला आपसी विवाद बढ्दा बिहीबार एक युवकले वृद्धको हत्या गरेका छन् ।

जौलिपोखरी–२ कोलनेटाका ३१ वर्षीय बलबहादुर बुढाले सोही गाविसस्थित हुलाक डाँडाका ६३ वर्षीय खरवीर बस्नेतलाई टाउकोमा ढुङ्गा प्रहार गरेपछि बस्नेतको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक रमेशकुमार पन्थीले जानकारी दिए ।

उनका अनुसार बस्नेतको मृत्युपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगी मुचुल्कासहितको काम सम्पन्न गरी शव प्राथमिक स्वास्थ्य केन्द्र होलेरीलाई जिम्मा लगाइएको छ ।

बस्नेतको शुक्रबार शवपरीक्षण हुने र त्यसपछि मात्र शव परिवारको जिम्मा लगाइने पन्थीले जानकारी दिए ।

आवश्यक अनुसन्धानका लागि पीडकलाई इलाका प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ । (रासस)