१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


मापसे र लेन अनुशासन कक्षा अब टेलिभिजनमार्फत्


0
Shares

काठमाडौं, भदौ ३ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादकपदार्थ सेवन र लेन अनुशासन उल्लंघन कक्षा अब स्मार्ट टेलिभिजनमार्फत् लिने भएको छ ।

यसअगाडि प्रोजेक्टरमार्फत् कक्षा लिँदै आएको महाशाखाले आइतबारदेखि टेलिभिजनमार्फत् कक्षा सन्चालन गर्न लागेको हो ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले प्रोजेक्टरमार्फत् कक्षा सन्चालन गर्दा प्रोजेक्टर तात्ने, घाम लागेर टल्कने जस्ता समस्या भएकाले टेलिभिजनमार्फत् कक्षा सन्चालन गर्न लागेको जानकारी दिए ।

उनले भने–‘मापसे र लेन अनुशासनसम्बन्धी दैनिक ६ घन्टा कक्षा लिन्छौं, कक्षा लिँदा प्रोजेक्टर तात्ने हुँदा समस्या परेकाले टेलिभिजनमार्फत् कक्षा लिन लागेका हौं ।’

महाशाखामा टेलिभिजनमार्फत् कक्षा सन्चालन गर्नका लागि ५८ इन्चको एलीडी टेलिभिजन जडान गरिएको छ । महाशाखाले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कक्षा सन्चालन गर्दै आएको छ ।

महाशाखाले हाल दैनिक लेन अनुशासन उल्लंघनसम्बन्धी ६ र मादकपदार्थ सेवनसम्बन्धी दुईओटा कक्षा लिँदै आएको छ ।

अहिले लेन अनुशासन उल्लंघन दैनिक ५०० जना र मापसे दैनिक १०० जनालाई कक्षा लिँदै आएको महाशाखाले जनाएको छ । रासस