१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


स्थानीय तहको पुनरर्संरचनाबारे कांग्रेस नेताहरुको फरक धारणा


0
Shares

काठमाडौं, भदौ ५ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले स्थानीय निकायको पुनरर्संरचनाप्रति अनिच्छा व्यक्त गरेका छन् ।

उनीहरु मौजुदा व्यवस्थाबाटै स्थानीय तहको काम गर्न सकिने विश्वासमा देखिन्छन् । अहिले भइरहेकै स्थानीय निकायलाई नयाँ संविधानको प्रावधान अनुरुपको स्थानीय तह मान्दा उपयुक्त हुने सोचमा शीर्ष नेता देखिएका हुन् ।

स्थानीय तहको पुनर्संरचनाका बारेमा पार्टीको आधिकारिक धारणा तय गर्न काठमाडौंमा आयोजित जिल्ला सभापतिहरुको भेलामा नेताहरुले अहिलेको संरचना चलाउन थाल्दा विवाद हुने भएकाले यथास्थितिमै निर्वाचन गराउँदा राम्रो हुने सुझाएका हुन् ।

उनीहरुले स्थानीय निकाय पुनर्संरचना आयोगले तयार पारेको पुनर्संरचनाको खाकालाईसमेत अनुपयुक्त भएकोे संज्ञा दिए । पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन चाँडै गर्नुपर्ने भएकाले अहिलेकै संरचनालाई स्थानीय तह मानेर जानुपर्ने बताए ।

स्थानीय तहमा सिमांकन गर्न थाल्दा समस्या निम्तने भन्दै सबैलाई मान्य भइरहेको वर्तमान संरचना चलाउन नहुने उनको भनाइ थियो । यसबारेमा अरु दलसँग समेत छलफल गरेर निष्कर्षमा पुगिने देउवाको धारणा छ ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अहिलेको जिल्ला तहलाई कायमै राख्नुपर्ने धारणा राखे । उनले जिल्लाको संरचना राख्दा जनतालाई शासनको पहुँचमा सजिलो हुने तर्क गरे ।

कार्यक्रममा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतले ५ सय ६५ वटा गाउँपालिका बनाउने पुनर्संरचना आयोगको प्रस्ताव पूर्ण नभएकाले स्वीकार्न नसकिने बताए ।

यसअघिको ओली सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्न प्रस्ताव गर्दा कांग्रेसका शीर्ष नेताले संविधानको मर्म अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै स्थानीय निकाय पुनर्संरचना आयोगसँग चाँडै प्रतिवेदन मागी कार्यान्वयनमा लैजानुपर्ने बताएका थिए ।

संविधान कार्यान्वयनका लागि भन्दै निर्माण गरिएको कांग्रेस–माओवादी–मधेशी गठबन्धनमा नयाँ सरकार बनेपछि भने स्थानीय निकायका सन्दर्भमा कांग्रेसका नेताहरुको बोली फेरिएको हो ।

स्थानीय तहका सन्दर्भमा पार्टी सभापति, वरिष्ठ नेता र शीर्ष भनिएका नेताहरुले यस्तो अभिव्यक्ति दिइरहँदा कार्यक्रममा सहभागि अरु नेताले भने कांग्रेसको तर्फबाट यस्तो धारणा आउँदा पार्टीको यथास्थितिवादी सोच झल्किने भन्दै चिन्ता गरेका थिए ।

पार्टी केन्द्रीय पदाधिकारी र सदस्य एवं ७५ जिल्लाका सभापति सहभागि भोलिसम्म चल्ने भेलाले स्थानीय तहका बारेमा कांग्रेसको आधिकारिक धारणा तय गर्नेछ ।