
काठमाडौं, वैशाख १ । ज्येष्ठ नागरिकको सम्मान र सबैको पहुँचमा बैंक पुर्याउने उद्देश्यले आजबाट ज्येष्ठ नागरिक स्वास्थ बीमा तथा खोलौं खाता शुभारम्भ भएको छ ।
‘समृद्धिसँग जोडौ नाता, सबै नेपालीको खोलौं खाता’ भन्ने नारासहित सुरु भएको अभियानको पहिलो दिन ५५ जना वृद्धवृद्धाले प्रमाणपत्र लिए । अब बृद्धबृद्धाहरुको स्वास्थोपचार सहज हुने आशा गरिएको छ ।
प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गरेको नागरिक स्वास्थ बीमा तथा खोलौं खाता अभियानसँगै अब हरेक नागरिकको बैंक खाता हुने भएको छ । योसँगै ज्येष्ठ नागरिकको स्वास्थ बीमा गर्न पनि सरकारले सहयोग गर्ने भएको छ । १ लाखसम्मको स्वास्थ्य बीमाका लागि नेपाल सरकारले प्रिमियम तिर्ने भएको हो ।
बालुवाटारकी १ सय वर्षीया वृद्धा जमुना गुरुङले अभियानको पहिलो प्रमाणपत्र लिएकी छन् । स्वास्थ्य बिमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठूलो भरथेग गर्ने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमा लिएकाहरुले स्वास्थ बिमाबाट स्वास्थोपचार सहज हुने भन्दै खुशी व्यक्त गरका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेकोले ७० वर्षमाथिका ज्येष्ठ नागरिक र विपन्न नागरिकको निःशुल्क बीमा गर्न सरकारले सहयोग गरेको बताए ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत् हाल ४२ जिल्लामा स्वास्थ्य बीमा पुगेको र बाँकी जिल्लामा क्रमशः विस्तार हुने बताइएको छ । बीमा कार्यक्रममा हालसम्म १६ लाख नागरिक आबद्ध भइसकेका छन् । तीमध्ये ५३ प्रतिशत पुरुष र ४७ प्रतिशत महिला छन् ।
हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै तहमा वित्तिय पहुँच पुग्ने जनाइएको छ । बीमा कार्यक्रमले गरिबी हटाउन मद्धत पुग्ने भन्दै सबैलाई यसमा आबद्ध हुन सरकारले आह्वान गरेको छ । स्वास्थ बीमा कार्यक्रममा उमेर पुगेका सबै वृद्धवृद्धालाई समावेश गर्न सके कार्यक्रमको प्रभावकारीता अझै बढ्नेछ । यसका लागि कार्यान्वयन पक्षमा भने ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्