
काठमाडौं, भदौ ८ । नेकपा एमालेले संविधान कार्यान्वयन हुन नदिने र मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्ने खेल भइरहेको आरोप लगाएको छ ।
एक साता लामो स्थायी समितिको बैठकका निर्णय जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘नेकपा माओवादी केन्द्रको वैचारिक–राजनीतिक विचलन, सत्तास्वार्थ र देशले लिएको राजनीतिक दिशा उल्ट्याउने उद्देश्यले एमाले नेतृत्वको सरकार परिवर्तन गराइएको’ दाबी गरियो ।
‘छिमेकीहरूसँगको सन्तुलित सम्बन्धलाई फेरि असन्तुलित बनाउने, राष्ट्रिय स्वाभिमानलाई गिराउने र नेपाली आफैंले केही गर्न सक्दैनन् भन्ने छाप पारेर मुलुकको शिर झुकाउने प्रपञ्च पनि भइरहेको’ भन्दै एमालेले त्यस्ता गतिविधिको कडा प्रतिरोध गर्ने पनि बताएको छ ।
‘स्थानीय निकायको अन्तरिम निर्वाचन गरौंभन्दा पुनःसंरचना नगरी हुँदैन भन्ने र अहिले पुनःसंरचनाको काम टुंगिन लागेकोबेला फेरि पुरानै संरचनाअनुसार चुनाव गरौं भन्ने प्रस्तावले सत्तापक्ष निर्वाचन नै चाहँदैन भन्ने स्पस्ट भएको’ भन्दै एमालेले अविलम्ब स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्न पनि माग गरेको छ ।
त्यसैगरी, देशभित्र संविधान सशोधनको विषयमा छलफलै नगरी विदेशी भूमिमा गएर छलफल चलाइएको भन्दै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाले भारतलाई पठाएको पत्र सार्वजनिक गर्न पनि माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्