१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सरकारमा थपिए १३ मन्त्री


0
Shares

काठमाडौं, भदौ १० । राष्ट्रपति विद्या भण्डारीले शुक्रबार नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसबाट छानिएका १३ जना मन्त्रीलाई शपथ दिलाएकी हुन् ।

शपथ लिनेमा अर्जुननरसिंह केसी (शहरी विकास), प्रकाशशरण महत (परराष्ट्र), बालकृष्ण खाँड (रक्षा), सूर्यमान गुरुङ (श्रम), शंकर भण्डारी (वन), नवीन्द्रराज जोशी (उद्योग), केशव बुढाथोकी (सामान्य प्रशासन), दीपक गिरी (सिंचाई) र सीतादेवी यादव (शान्ति तथा पुनर्निर्माण) मन्त्री छन् ।

यसैगरी रोमी गौचन थकाली (वाणिज्य), हृदयराम थानी (गरीबी निवारण तथा सहकारी), जीवनबहादुर शाही (पर्यटन तथा संस्कृति) र गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी शपथ लिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको करिब एक महिनापछि कांग्रेसले आफ्नातर्फबाट थप मन्त्रीको शपथ गराएको हो । कांग्रेसभित्रको आन्तरिक किचलोका कारण मन्त्रीको टुंगो गर्न ढिलो भएको थियो ।

कांग्रेसले आफ्नो भागमा परेको १५ मन्त्रालयमा आफ्ना सबै मन्त्री पठाएको छ । यसअघि उपप्रधान एवं गृहमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा योजनामा रमेश लेखकलाई पठाएको थियो ।

यद्यपि, सरकारले अझै पूर्णता पाएको छैन । दाहाललाई प्रधानमन्त्रीमा सघाएका मधेशी दललाई पनि सरकारमा समेट्न केही मन्त्रालय अझै रिक्त राखिएको छ भने केही राज्यमन्त्री पनि थप गर्न बाँकी रहेको छ ।

यसैबीच, राष्ट्रपति कार्यालयले यसपटक पनि निजी सञ्चारमाध्यमका सञ्चारकर्मीहरुलाई शपथ समारोहको समाचार संकलनमा रोक लगाएको छ ।