दीपक घिमिरे
रुपन्देही, चैत ३० । रुपन्देहीको सैनामैना नगरपालिका–५ को सेरुवा बस्ती आधारभूत सुविधाबाट पनि वञ्चित बनेको छ । नगरपालिका कार्यालयको नजिकैमा रहे पनि सामान्य सेवा, सुविधा पुर्याउन जनप्रतिनिधिले चासो नदेखाउँदा स्थानीय दिक्दार बनेका छन् ।
सैनामैना नगरपालिकाअन्तर्गत रहेको सेरुवा बस्तीमा मतदानको समयमा मात्र नेताको नजर पुग्ने गरेको स्थानीयले गुनासो गरेका छन् । तीनतिरबाट नदीले घेरिएको यो बस्तीमा पुग्न न त पुल बनेको छ, न त सडक नै । २०६० सालमा दुई वटा विजुलीका खम्बा गाडिएको यस बस्तीमा बिजुली कहिलेसम्म आउने हो ? कुनै ठेगान छैन ।
वर्षायाममा खोला उर्लिँदा अन्य ठाउँसँग सम्पर्कविहीनजस्तै बन्ने यस बस्तीमा स्थानीयहरुले आफ्नै पहलमा बाँसको खम्बा गाडेर बल्लतल्ल बत्ती बालेका छन् । त्यो पनि बेलाबखत बिग्रिएर हैरान पार्ने गर्दछ । करिब १० घरपरिवार रहेको यो गाउँमा विकासको पूर्वाधार बन्न नसकेपछि मानिसहरु अन्यत्रै बसाई सर्न बाध्य छन् । पुल नबन्दा विशेष गरी स्कुले बालबालिकालाई स्कुल पुग्न र बिरामीलाई अस्पताल पुर्याउन ठूलो सास्ती हुने गरेको छ ।
विकासका गतिविधिलाई सन्तुलित बनाउन र हरेक ठाउँमा सेवा सुविधाको पहुँच पुर्याउने उद्देश्यले गठन गरिएका स्थानीय सरकारले यस्ता विषयमा ध्यान नपुर्याउँदा आम जनताले सरकारको महसुस गर्न पाएका छैनन् ।










प्रतिक्रिया दिनुहोस्