फाइल फोटो
काठमाडौं, भदौ १३ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधानको कार्यान्वयनका लागि ओली सरकारले तयार गरेको कार्यतालिकाभित्र अहिलेको सरकारले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
पार्टीको स्कुल विभागले युवा संघ पदाधिकारी तथा केन्द्रीय सदस्यलाई एक सातादेखि सन्चालन गरेको प्रशिक्षणको समापनमा महासचिव पोखरेलले करिब डेढ वर्षभित्र तीनओटा चुनाव गर्न नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने र त्यसले देशमा संवैधानिक संकट निम्तिने बताए ।
उनले ओली सरकारले मुलुकको राष्ट्रियतालाई उँचो पार्ने कार्य गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले राष्ट्रको स्वाधीनतालाई कमजोर बनाउन सरकार ढालेको बताए ।
युवा संघका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलु पन्त, प्रवक्ता प्रभातविक्रम कटुवाललगायतले यस किसिमको प्रशिक्षणले युवालाई परिपक्व तथा परिस्कृत बनाउने विचार व्यक्त गर्दै समाज निर्माणमा माक्र्सवादी शिक्षालाई समयसापेक्ष ढंगले उपयोग गर्नुपर्ने विचार व्यक्त गरे ।
तुल्सीलाल स्मृति प्रतिष्ठानमा यही भदौ ७ गतेदेखि सन्चालन भएको उक्त प्रशिक्षणमा सैद्धान्तिक, दार्शनिक आधार, बहुदलीय जनवाद, माक्र्सवाद, सीप, कला, संस्कृतिलगायत विषयमा प्रशिक्षण दिइएको थियो । रासस








प्रतिक्रिया दिनुहोस्