
काठमाडौं, भदौ १४ । सवारी–साधनहरुको बृहत् प्रदर्शनी ‘नाडा अटो शो’ मंगलबारदेखि काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको प्रदर्शनीको अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका हुन् ।
मेलामा १७ ब्रान्डका ५ पाँग्रे, १५ ओटा ब्रान्डका २ पांग्रे तथा ५ ब्रान्डका हेवी कमर्सियल सवारी–साधन, बैंक तथा सेवामूलक संस्थासहित १ सय २५ बढी अवलोकन कक्ष राखिएका छन् ।
मेलाको अवसर पारेर विभिन्न कम्पनीहरुले गाडी तथा मोटरसाइकलका नौला ब्रान्ड नेपाली बजारमा प्रवेश गराएका छन् ।
विगतका वर्षहरुको तुलनामा योपटक अटो प्रदर्शनी बृहत् र फरक रहेको दाबी आयोजक नाडाका अध्यक्ष अञ्जन श्रेष्ठको छ ।
सवारी–साधनसहित यससँग सम्बन्धित स्पेयर पार्टस्, लुब्रिकेन्टस, टायर, ब्याट्री तथा अन्य एसोसेरिज पनि राखिएका छन् ।
नाडा अटो शोको अवसर पारेर युनाइटेड ट्रेर्डस सिन्डिकेटले टोयोटाको नयाँ कार ‘इनोभा’ बजारमा ल्याएको छ ।
इनोभा कारको बजार मूल्य ७४ लाख देखि ९८ लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।
यस्तै, जगदम्बा मोटरले ‘टिभिएस अपाची २०० फोर भी’ मोडलको मोटरसाइकल एवं एमएडब्लू इन्टरप्राइजेज्ले यमाहाको नयाँ ‘रे ज्येड् आर’ बाइक नेपाली बजारमा भित्र्याएको जनाएका छन् ।
प्रदर्शनी भदौ १९ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्