२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तीनजना मन्त्रीले एउटै मञ्चबाट भने :‘जनताको काम गरेरै देखाउँछौं’


0
Shares

काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले संविधान कार्यान्वयनलाई प्रमुख प्राथमिकता मानेर सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस नवनियुक्त मन्त्रीहरुलाई सम्मान गर्दै सरकार सञ्चालनका लागि सुझाव दिन प्रजातान्त्रिक विचार समाजले आज राजधानीमा गरेको कार्यक्रममा मन्त्रीहरुले आफूहरु जति दिन पदमा रहे पनि जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनीहरुले संविधान कार्यान्वयनसँगै भ्रष्टाचार मुक्त भएर काममा लाग्ने अठोट गरे । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी सरकार अघि बढेको बताए ।

उपप्रधामन्त्री निधिले आफूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले लेखेको विशेष दुतसम्बन्धी पत्र मात्र दिएको भन्दै यस विषयमा कुटनीति नबुझेकाहरुबाट अनावश्यक टिप्पणी भएको बताए ।

शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफूले स्वच्छ र पारदर्शी ढंगबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पछिल्लो समय मधेसी र पहाडी समुदायबीच देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।

उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योगको विकास बिना मुलुक सम्मृद्ध बन्न नसक्ने भएकाले आफूले बन्द भएका उद्योग खुलाउन प्राथमिकता दिने बताए ।

कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले सरकार सञ्चालनका लागि आफूहरुले मन्त्रीहरुलाई सुझावपत्र दिएको जानकारी दिए ।

कार्यक्रममा पूर्वसचिव मधुरमण आचार्य, उपेन्द्रकेशरी न्यौपाने, अन्जनीकुमार झा लगायतले शासन सञ्चालनमा ध्यान पु¥याउनुपर्नेलगायतका विषयका कार्यपत्र प्रस्तुत गरेका थिए ।