
प्रज्ञा तिमल्सिना/कबिर महर्जन (इमेज)
काठमाडौं, असार २५ । विगत ४१ दिनदेखि वीर अस्पतालमा अनशनरत् गंगामाया अधिकारीले सरकारले आफूसँग विगतमा गरेका सहमति कार्यान्वयनको ‘ग्यारेन्टी’ नगरेसम्म अनशन नतोड्ने अडान लिएकी छन् ।
सोमबार अनशन तोडाउन गएका कानुन मन्त्रालयका सचिव र गृह मन्त्रालयका सहसचिवलाई गंगामायाले छविलाल पौडेलमाथि कारबाही नभएसम्म अनशन नतोड्ने जवाफ दिएकी हुन् ।
छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग राख्दै विगत ६ वर्षदेखि पटक–पटक अनशनमा बसेकी गंगामायाले हत्याका अभियुक्त छविलाल पौडेलले आत्मसमर्पण गरेपनि उनीमाथि कारबाही हुनेमा आश्वस्त हुन सकिनन् ।
जसका कारण छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सोमबार गंगामायाको अनशन तोडाउन गएकाहरु त्यत्तिकै फर्कनुपर्यो ।
गंगामायाले कारबाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिइरहेकी छन् ।
अनशन तोडाउन गएका कानुन मन्त्रालयका सचिव राजीव गौतमले अभियुक्त कानुनको दायरामा आएपछि कानुनले नै कारबाही गर्छ भन्दै अनशन तोड्न आग्रह गरेका थिए ।
‘मेरो आँखामा छारो हाल्न नआउनोस्’ भन्दै गंगामायाले छविलाल पौडेललाई कारबाही गर्न कति दिन लाग्छ ? त्यति दिनसम्म अनशन नै बस्ने अडान लिइन् ।
गंगामायाका वकिल बाबुराम गिरीले परिवार सबै गुमाएकी गंगामायाको सम्पूर्ण रेखदेख पनि सरकारले गर्नुपर्ने बताए ।
लामो समय अनशनमै बसेकी गंगामायाको स्वास्थ्यमा विभिन्न समस्या देखापरेकाले स्वास्थ्य उपचारदेखि सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धतासहित अनशन तोडाउन आउनुपर्ने उनको भनाइ थियो ।
वि.सं. २०६१ साल जेठ २४ गते तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले अपहरणपछि कृष्णप्रसादको हत्या गरेका थिए । छोराका हत्यारालाई कारबाहीको माग राख्दै अधिकारी दम्पतीले अनशन सुरु गरेका थिए ।
गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकैक्रममा मृत्यु भएको थियो भने नन्दप्रसादको शव अहिलेपनि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्