३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


ठेकेदारबीच सहमतिपछि काँक्रेविहार पुनर्निर्माणको काम सुुरु


0
Shares

मानबहादुर वली

सुर्खेत, चैत २९ । ठेकेदारहरुबीचको आपसी विवादका कारण अवरुद्ध बनेको सुर्खेतको काँक्रेविहार पुनर्निर्माणको काम फेरि सुुरु भएको छ । 

निर्माण जिम्मा पाएको काठमाडौंस्थित सिद्धबाबा कन्स्ट्रक्सन प्रालिका दिपक कार्की र ठेकेदार तिर्थराम कासी छवाबीच आपसी लेनदेन नमिल्दा काँक्रेबिहार पुनर्निर्माणको काम अवरुद्ध बनेको थियो । उत्खनन् स्थलमा पुरातत्व विभागले २०६१ सालमै शिखर शैलीको मन्दिर बनाउन काम शुरु गरे पनि २०७२ सालदेखि भने पुनर्निर्माणले गति लिएको हो । मन्दिरको उचाइ २१ मिटरमध्ये हालसम्म लगभग ८२ प्रतिशत पुनर्निर्माण भइसकेको छ । अहिले ठेकेदार बीचको आपसी मेलमिलापले पुनर्निर्माणको काम जेठ मसान्तसम्म टुंगिने ठेकेदार कम्पनीका प्रतिनिधि तिर्थराम कासी छवाको भनाइ छ ।

लामो समयसम्म अलपत्र काँक्रेबिहार २०७२ साल असारबाट ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने शर्तमा ठेक्का दिइएको थियो । त्यसको लागि ९ करोड ६५ लाख रुपैयाँ विनियोजन भएको छ । कालीगढको अभाव, ढुंगा कुद्नु पर्ने भएकाले ढिला भएकाले जेठसम्ममा रंगरोगनको काम नसकिने पुरातत्व विभागका इन्जिनियर पूर्णमान श्रेष्ठ बताउँछन् ।

पर्यटकीय विकासको ठूलो सम्भावना बोकेको काँक्रेबिहार पुनर्निर्माण अवरुद्ध भएका कारण पर्यटकहरु प्रभावित भइरहेका छन् । त्यसमा पनि निर्माण कार्यमा ढिलाई हुँदा लुम्बिनीदेखि क्राँक्रेबिहार हुँदै मानसरोवरसम्मको करिडोर बढी प्रभावित भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको भनाइ छ ।

सिन्जा साम्राज्यका राजा अशोक मल्लले विसं १३२५ मा काँक्रेविहार निर्माण गरेको प्राचीन किंबदन्ति पाइन्छ । आपसी स्वार्थ नमिल्दा आफ्नो जिम्मेबारी बिर्सेर सार्वजनिक सरोकारका विषयलाई बन्धक बनाउने प्रवृत्ति आफैँमा खेदजनक छ ।

जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न हुने गरी काम अगाडि बढे आन्तरिक तथा बाह्य पयर्टकको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । 

भिडियो रिपोर्ट हेर्नुहोस्