२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तीज पर्वमा आज नारीहरु ब्रत बसेर मनाउँदै, नाचगानको बेग्लै रमाइलो


0
Shares

काठमाडौं, भदौ १९ । हिन्दू नारीहरुको महान् चाड हरितालिका तीज अन्तर्गत आज दोस्रो दिन व्रत बसेर मनाईदै छ ।

सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रतलाई हरितालिका तीज भनिएको हिन्दू शास्त्रहरुमा पाइन्छ ।

हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।

भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौंको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, नुवाकोटको दुप्चेश्वर, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा बिहानैदेखि घुँइचो लागेको छ ।

यस दिन शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् । यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ ।