२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जेलमा कैदी बन्दी महिलाले घर–परिवार सम्झदैं यसरी मनाए तीज (भिडियो)


0
Shares

काठमाडौं, भदौ १९ । तीज हिन्दू महिला दिदीबहिनीका लागि खुला आकाशमा विचरण गर्दै खुशीयाली साथ मनाउने पर्व । यस दिन ब्रत बसी आफ्नो पतिको दीर्घायूको कामनाका साथै आफ्नो सुस्वास्थ्यको कामना पनि गरिन्छ ।

तर बन्दीगृहमा रहेका दिदीबहिनीले भने चार दिवारभित्रै बसेर तीज मनाउँदै आफ्नो मन बुझाए ।

चाड पर्वले धनी–गरिब छुट्याउँदैन, न उमेर नै । खुला आकाश होस् वा चार दिवार । चाड पर्व सबै नेपालीको घर आँगनमा बर्षेनि उसैगरी भित्रन्छ । हुँदा खाने र हुने खानेबीचमा यसले केही भेद गर्दैन । गर्छ त समाजभित्रको आर्थिक विभेदलेमात्र ।

तीजमै आधारित रहेर विभिन्न भाका र बोलमा गीत तयार गरिएका छन् । तर जेल जीवन बिताउन बाध्य दिदीबहिनीले भने तीज गीत पनि जेल जीवनमै रहेर गाउँदै थिए ।

एकछिनको नाचगान, मनभरी पीडा अनि दुःख साथ साथै पश्चाताप, सबै पक्ष समेटिएका छन् यस्ता भाकामा ।

नाचगानमा एकैछिन भएपनि दुःख र पीडा भुलेका यी दिदीबहिनी नाचगानपछि भने घरपरिवारलाई सम्झन थाले र आँशु झारे । जानाजान होस् वा अन्जानमा गरेका अपराधबाट जेल जीवन बिताइरहेका यी दिदीबहिनीलाई देख्दा नेपाली संस्कृति र चाडपर्वबारे भने विदेशी बन्दी दंग पर्थे ।

जे होस्, खुला आकाशमा मनाउने र घर परिवारका बीचमा सुख–दुःख बाँडेर मनाउने चाडपर्वमा भिन्नता त हुन्छ नै । त्यसैले त आम नेपालीलाई भुलेर पनि अपराध नगर्न उनीहरु यसरी सल्लाह दिन्छन् ।

जे भएपनि दर खानेदेखि नाचगानको व्यवस्था मिलाइदिएर कारागार प्रशासनले चार दिवारभित्र रहेर आफ्ना सबै स्वतन्त्रता गुमाएका दिदीबहिनीलाई थोरै भएपनि खुशी दिलाइदिएर प्रशंसा बटुलेको छ ।