
काठमाडौं, भदौ २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यकासाथ सरकारले नियमित बजार अनुगमन गरिरहेको र त्यसबाट सकारात्मक परिणाम आइरहेको बताएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले बजार अनुगमनलाई नियमित गर्ने र कालोबजारी तथा कमिसनखोरलाई कानुनको दायरामा ल्याउने प्रयास जारी रहेको बताए ।
आमजनताको माग जतिसक्दो धेरै सम्बोधन गर्न तथा राहत दिन सरकार र आफू पूर्णरुपमा प्रतिबद्ध भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसमा सकारात्मक सहयोग गर्न माओवादीका नेतालाई आग्रह गरे ।
प्रधानमन्त्री दाहालले भने–‘आमजनताको माग समावेश गरेर ज्ञापनपत्र बुझाउन आउनुभो, यसले आफूलाई काम गर्न सहयोग पुग्नेछ, यसैगरी सकारात्मक सहयोग गर्नोस्, सरकार पूर्णक्षमताकासाथ जनतालाई राहत प्रदान गर्न क्रियाशील छ ।’
ज्ञापनपत्रमा दाल, चामललगायत दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशत सहुलियत दिन माग गरिएको छ ।
दाल, चामल, तेल, पिठो, दूध, तरकारी, फलफूल, मासु र मसलाको मूल्यमा ५० प्रतिशत सहुलियत दिन माग गरेको माओवादीका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।
ज्ञापनपत्र बुझाउन पुगेका माओवादीका अर्का नेता सन्तोष बुढामगरले जनताको दैनिक जीवनसँग जोडिएका विषयमा विशेष ध्यान दिन र जनतालाई राहत प्रदान गर्न आफूहरुले प्रधानमन्त्रीसँग माग राखेको बताए ।
सो अवसरमा प्रधानमन्त्रीले सरकार जनतालाई बढीभन्दा बढी राहत दिन क्रियाशील रहेको र त्यसैलाई ध्यान दिएर बजार अनुगमनलाई गति दिइएको बताएको नेता मगरले जानकारी दिए ।
ज्ञापनपत्रमा किसानका सबै उत्पादन राज्यले खरिद गरी सीधै उपभोक्तासम्म पुर्याउने व्यवस्था गर्न, विचौलियाको जालो ध्वस्त पार्न र सो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन, माथिल्लो कर्णाली, अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय कम्पनीसँग गरिएको आयोजना विकास सम्झौता (पीडीए) तत्काल खारेज गरी स्वदेशी पुँजीमा नै निर्माण गर्न आग्रह गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्