Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


चार वर्ष अघि ४३ किलोमिटरका लागि छुट्याइएको बजेटले अब १० किलोमिटरमात्रै सडक बन्ने


0
Shares

बिराज रोस्यारा

कैलाली, चैत २७ । स्मार्ट सिटीको परिकल्पना गरिएको धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सडक बनाउन बजेट अपुग भएको छ । झण्डै ४३ किलोमिटर सडक निर्माणका लागि आएको बजेटले अब १०.२५ किलोमिटरमात्रै बन्ने जनाइएको छ ।

धनगढीभित्र विभिन्न चरणमा ४२.९६ किलोमिटर सडक बनाउनका लागि आयोजनाले सन् २०१५ मा १ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । आयोजना कार्यान्वयनमा ढिलाइ भइ अहिले महँगी बढेकाले ४ वर्ष पहिले छुट्याइएको बजेटले पूर्वनिर्धारित दूरीमा सडक निर्माण नहुने आयोजनाका सूचना अधिकारीसमेत रहेका इञ्जिनियर रुपचन्द्र बुढाथोकीले जानकारी दिए ।

चार वर्ष पहिले प्रतिकिलोमिटर सडक निर्माणका लागि चार करोडका दरले बजेट छुट्याएको बताउदै उनले अहिले सबै चिज महँगो भएर प्रतिकिलोमिटरमा ९ देखि ११ करोड रुपैयाँ बजेट आवश्यक हुने जनाए । आयोजनामा रहेको बजेटले पहिलो चरणमा विभिन्न ७ वटा सडक गरी कुल १०.२५ किलोमिटर दूरीमा मात्रै सडक निर्माण गर्न सकिने उनको भनाइ छ ।

१०.२५ किलोमिटरमा सडक निर्माणका लागि डिजाइन, इस्टिमेटको कार्य सम्पन्न भइसकेको जनाइएको छ ।

सडक निर्माणका लागि एक हप्ताभित्रै टेन्डर हुने नगर प्रमुख नृपबहादुर वडले बताए । आयोजनालाई रोक्नका लागि धेरै व्यक्ति लागिपरेको बताउँदै निर्माण हुने सबै सडक कालोपत्रे गरिने र साइड ड्रेन पनि बनाइने जनाए ।

आयोजनाअन्तर्गत निर्माण हुने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रका लागि भने धनगढी उपमहानगरपालिकाले अझैसम्म जग्गा प्राप्त गर्न नसकेको बताउँदै उनले स्थानीयको विरोधको कारण काम अगाडि बढ्न नसकेको प्रष्ट पारे ।