
पर्वत, भदौ २५ । पर्वतको धाइरिङ गाविस–३ धारापानीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
शालिजा गाविसको ठोट्नेरीबाट धाईरिङ गाविसको मिलनचोक जाँदै गरेको ग. १ ज ५१०२ नम्बरको जीप धाइरिङको धारापानी भन्ने ठाउँको ब्रेक फेल भएर दुर्घटना भएको हो ।
गाडी सडकबाट झन्डै ६६ मिटर तल खसेको हो । दुर्घटनामा म्याग्दी ज्यामरुकोट–३ की ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै कास्की रिभान–९ की ३० वर्षिया डिलकुमारी बुढाथोकी र सोही ठाउँकी ६० वर्षिया हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाईते कास्की रिभान–९ की १४ वर्षिया अमृता पुनलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य ७ जनाको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्