
काठमाडौं, भदौ २६ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको बेला विवादित विषयमा छलफल नगर्ने स्पष्ट पारेका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै दलले यसो गर्नुहोस्, उसो गर्नुहोस् भन्न नमिल्ने बताए । ‘यो भ्रमण सद्भाव भ्रमण हो, विवादित विषयमा छलफल हुँदैन ।’
पुनले केही राजनीतिक दलहरुले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा अराजनीतिक ढंगले कुटनीतिक सिद्धान्तको विपरित बहस छेडेको आरोप लगाए । ‘नेपालको हित, आवश्यकतामा प्रधानमन्त्रीको भ्रमण हुँदैछ,’ उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रिय हित र स्वार्थ राम्रोसँग थाहा छ ।’
उनले प्रधानमन्त्रीलाई कसैले पनि राष्ट्रिय हित र स्वार्थको बारेमा पाठ पढाइरहन नपर्ने पनि प्रष्ट पारे ।
उनले घरेलु नीति अनुसार नै पराष्ट्र नीति हुने भन्दै पुनले प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हितमा केन्द्रित हुने दाबी गरे । उनले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वार्थ र भौगोलिक अखण्डतामा कहीँ कतै आँच आउने काम भ्रमणमा नहुने विश्वास दिलाए ।
संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै उनले अहिले यस विषयमा गम्भिर र सघन छलफल भैरहेको जनाए । उनले संविधान संशोधन गर्ने विषय नेपालको आन्तरिक मामिला भएको बताए ।
प्रतिक्रिया दिनुहोस्