२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गंगामाया अधिकारीले अनसन तोडिन्, कसरी मिल्यो कुरा ?


0
Shares

काठमाडौं, भदौ २९ । आफ्ना छोराका हत्यारालाई सजायँको मागसहित वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन् ।

मृतक छोरा कृष्णप्रसादको हत्याका बिषयमा चितवन जिल्ला अदालतले गंगामायाको साक्षी वकपत्र गराउने आदेश दिएपछि कानूनव्यवसायी र मानवअधिकारबादीको राय सल्लाहमा अनशन तोडेकी हुन् ।

हत्याका अभियुक्तविरुद्ध चलेको कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतले गम्भीरता देखाएर गंगामायाको वकपत्र गराउने आदेश दिएपछि आमरण अनशन तोडेको मानवअधिकारवादी चरण प्रसाईले जानकारी दिए ।

चितवन अदालतका प्रमुख न्यायाधीश टेकनारायण कुँवरको इजलासले यही भदौ २६ गते मुद्दामा गंगामायाको समेत वकपत्र गराउने आदेश दिएको थियो ।

उक्त आदेश अनुरुप गंगामायाको वकपत्र गराउन असोज २ गते चितवन अदालतका स्रेस्तेदार काठमाडौं आउँदैछन् । गंगाामायाले छोराको हत्याका प्रमाण दिने शर्तमा अनशन तोडेकी हुन् ।

६ बर्षदेखि अनशन बस्दै आएकी उनको पछिल्लो आमरण अनशन भने ३२ औं दिन तोडिएको हो । छोरा कृष्णको २०६१ साल जेठ २४ गते चितवनमा माओवादीले हत्या गरेका थिए ।

हत्या प्रकरणमा मुद्दा चलाइएका चार अभियुक्तमध्ये गोरखा फुजेलका छविलाल पौडेल र रुद्र आचार्य हालसम्म फरार छन् ।

तत्कालिन गोरखा जनसरकार प्रमुख रहेका पौडेलको निर्देशनमा आचार्यले गोली हानी हत्या गरेको दाबी प्रहरीको छ ।

आचार्य बेलायतमा लुकेर बसेकाले इन्टरपोलमार्फत झिकाउने प्रयास भइरहेको छ । अनशनकैक्रममा दुई बर्षअघि मृत्यु भएका गंगामायाका पति नन्दप्रसाद अधिकारीको अझै अन्त्येष्टी हुन सकेको छैन ।

अधिकारीको शव पोष्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालमै छ ।