
-विशाल नेम्वाङ, ईमेज
झापा, भदौ २९ । देशका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेका बेला झापाको आयाबारीस्थित सामुदायिक आदर्श माध्यमिक विद्यालयमा भने विद्यार्थीको चाप बढेको छ ।
अन्य सामुदायिक विद्यालयको तुलनामा सामुदायिक आदर्श माविको पढाइ गुणस्तरीय भएपछि विद्यार्थीको चाप बढेको हो ।
झापाको आयाबारीस्थित सामुदायिक आदर्श माध्यमिक विद्यालयलाई अहिले विद्यार्थी व्यवस्थापन गर्न भ्याइनभ्याई छ ।
विद्यालय प्रशासनले शिक्षण विधिमा सुधार गरेसँगै नीजि विद्यालय छाडेर अभिभावकहरुले सामुदायिक विद्यालयमै बालबालिकालाई भर्ना गर्न थालेको प्रधानाध्यापक हेमकुमार खड्काले बताए ।
विद्यालयले शिक्षण विधिमा सुधार गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । विद्यालयलाई सफा र सुन्दर बनाउन शिक्षकको हौसलामा विद्यार्थी आफैं लागि परेका छन् ।
उनीहरुले क्लब गठन गरेर दैनिक रुटिन नै बनाएर विद्यालय परिसरमा फूल लगाउने र कक्षा सञ्चालन हुनु अगाडि विद्यालयको चौर र कक्षा कोठामा कागजका टुक्रा र फोहोर उठाउने गरेका छन् ।
विद्यालयमा प्रयोगात्मक पढाइ हुने भएपछि विद्यार्थी खुसी भएका छन् । प्रयोगात्मक पढाइ हुँदा बुझ्न र सिक्न सजिलो भएको विद्यार्थीहरु बताउँछन् ।
विद्यालयले कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पढाउने गरेको छ । तीनदेखि पाँच कक्षासम्म अंग्रेजी, विज्ञान र गणित विषयमा अंग्रेजी र अन्य विषय नेपाली माध्यमबाट पढाई हुने गरेको छ ।
समाजको सहयोग भए सामुदायिक विद्यालयबाटै असल विद्यार्थी उत्पादन गर्न सकिने प्रधानाध्यापक खड्काको बुझाइ छ ।
विद्यालयमा एट्याच शौचालयसहितको आधुनिक भवन निर्माण गरिएको छ । त्यसैगरी रमाइलो वातावरणमा ज्ञान आर्जन गर्न सकिने व्यवस्था मिलाइएको छ । पुस्तकालयको गुणस्तरमा समेत सुधार गरिएको छ ।
झापाको आदर्श माध्यमिक विद्यालयले विद्यार्थीलाई मनैदेखि खुशी बनाएर शिक्षा दिन सके कुनै पनि सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घट्ने छैन भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्