Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


टुट्यो विदेश जाने मोहः स्वदेशमै व्यवसाय गरेर मालामाल(भिडियो)


0
Shares

-दीपक घिमिरे/ईमेज

भैरहवा । धन कमाउने आशामा विदेसिनेहरुको संख्या बढ्दो क्रममा रहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थानीय भने स्वदेशलाई कर्मभूमि बनाउनेतर्फ अग्रसर भएका छन् ।

विदेशमा गर्ने मेहनत र लगानी आफ्नै देशमा खर्चिंदा पनि सफल भइने ठानेपछि उनीहरु स्वदेशमै व्यवसाय गरेर आत्मनिर्भर बन्नेतर्फ अघि बढेका हुन् ।

धन कमाउन पटकपटक विदेश गएका श्रीमान् रित्तो हात फर्किएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका सीमानगरकी सावित्री परियार आफँै विदेश जाने निधो गरिन् ।

तर अन्तिम समयमा आफन्तजनको सल्लाहबाट एकाएक उनको सोंच बदलियो र विदेश जानबाट रोकिएकी उनी अहिले कुखुरापालन र धागो बुन्ने व्यवसायमा रमाएकी छिन् ।

त्यस्तै तिलोत्तमा २ जानकी नगरकी सरिता न्यौपाने भण्डारी श्रीमानको मृत्यु भएपछि घरखर्च धान्न नसकेर विदेश जाने तयारीमा थिइन् ।

अन्तिम समयमा भने उनी पनि विदेश जानबाट रोकिइन् र अहिले सानोतिनो रोजगारी गरेर गुजारा चलाइरहेकी छिन् ।

सरिता र सावित्रीको जस्तै सोंच भएकाहरुको संख्या बढ्न थालेको छ ।

केही वर्षअघिसम्म विदेश भनेपछि हुरुक्कै हुनेहरु पनि कोही रोजगारीमा लागेका छन् भने कसैले सानोतिनो व्यवसाय संचालन गरिरहेका छन् ।

कतिपयले विदेशबाट मनग्ये कमाएर ल्याएको भए पनि धेरैले दुःख कष्ट र जोखिम भोगेका कारण उनीहरुमा विदेशमोह हराउँदै गएको छ ।

गाउँका धेरैजसोमा सकेसम्म स्वदेशमै मिहिनेत र परिश्रम गरेर सफल बन्नुपर्छ भन्ने मानसिकताको विकास समेत हुँदै गएको छ ।

लाखौँ कमाउने आशामा गएकाहरु कोही पीडा भोगेर त कोही लास बनेर फर्केको देखेका उनीहरुले विदेशमा झन् ठूलो जोखिम भएको बताउँछन् ।

विगतमा यस क्षेत्रबाट वैदेशिक रोजगारीका लागि जाने लहर चले पनि अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा एबिसी नेपालको काममा स्वतन्त्रता परियोजना अन्तर्गत घरदैलो कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रमबाट जनस्तरमा आएको चेतनाले त्यस्तो क्रम घटेको सीमानगर टोल व्यवस्थापन समितीका सचिव मनोहर रसालीको भनाइ छ ।

एबिसी नेपालका क्षेत्रीय संयोजक मनोज लामिछेनेले यस क्षेत्रका ९० घरपरिवार विदेश जानबाट रोकिई स्वरोजगार भएको दाबी गर्छन ।

लामिछेनेका अनुसार ९ हजार ६ सय २६ जना महिला विदेश जानबाट रोकिएको र ३ हजार ३२ जना आयआर्जनमा संग्लन रहेका छन् ।

विदेशी भूमिमा बगाउने पसिना र खर्चिने लगानीबाट आफ्नै देशलाई उर्बर बनाउन सकिन्छ भन्ने मान्यतालाई यसैगरी व्यवहारबाटै पुष्टि गर्नुपर्ने आवश्यकता छ ।

“

Skip This