२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


भारी वर्षा र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र


0
Shares

काठमाडौं । भारी वर्षा र असिनापछिको बाढी पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् ।

दैलेखको दुल्लु नगरपालिका र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको छ ।

दैलेखबाट पठाइएका उपकरणले पहिरो हटाउन नसक्दा काठमाडौं, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रु दुई दिनदेखि अलपत्र परेका छन् ।

पहिरो गएको ठाउँमा कुनै पनि घर पसल नहुँदा यात्रुलाई खानेपानी र खाजा नास्ता पाउन समेत गाह्रो भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले दहीखोला, किट्टुभीर र पादुका खोलाको पहिरो पन्छाएको छ भने गगनेखोलामा पहिरो पन्छाउने काम भइरहेको छ ।

डिभिजन कार्यालय जुम्लाका अनुसार गगनेखोलाको पहिरोले बर्षेनी दुःख दिने गरेको छ ।

अवरुद्ध राजमार्ग खुलाउन आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक डिभिजन कार्यालयको टोली जुम्ला गएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।