-प्रकाश नेपाल/ईमेज
इलाम । प्रविधिको प्रयोगले इलामको इलाम नगरपालिकाका गतिविधि निगरानी गर्न थालिएसँगै सेवाप्रभाव प्रभावकारी बन्न थालेको छ ।
नगरपालिकाका वडा कार्यालयमा भइरहेका गतिविधिको निगरानी सीसीटीभीमार्फत् गर्न थालिएसँगै कर्मचारीले गर्ने काम प्रभावकारी बनेको हो ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत कार्यकक्षमै बसेर सम्पूर्ण वडा कार्यालयको दृश्य कम्प्युटरमा प्रत्यक्ष हेरिरहेका हुन्छन् ।
कुन वडामा सेवाग्राहीको चाप कस्तो छ, ? कर्मचारी कार्यालय उपस्थित छन् कि छैनन् ? लगायतका कुराको अनुगमन गर्न उनी हरेक कार्यालयमा धाइरहनुपर्दैन ।
कार्यालयमा रहेका सिसिटिभीको प्रत्यक्ष दृश्य नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो मोबाइलमा समेत हेर्न सक्ने प्रविधि मिलाइएको छ ।
कार्यालयबाट प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएपछि वडाको काम चुस्त, दुरुस्त भएको र कर्मचारीहरूमा जिम्मेवारीपना थपिएको नगर प्रमुख महेश बस्नेत बताउँछन् ।
त्यसका अलाबा वडा कार्यालयहरुमा डिजिटल हाजिरी प्रणाली पनि जडान गरिएको छ ।
यससँगै कर्मचारीले काम नगरेको गुनासा सेवाग्राहीबाट नआउने विश्वास नगरपालिकाले लिएको छ ।
नगरले सूचना र प्रविधिलाई सदुपयोग गर्दै सुविधा सबै वडामा विस्तार गरेको हो ।
तार सहितको इन्टरनेट चल्ने वडामा इन्टरनेटबाट र नचल्ने वडा कार्यालयमा ‘रिपिटर टावर’ राखेर सिसिटिभीको दृश्य प्रत्यक्ष हेर्ने व्यवस्था मिलाएको छ ।
त्यसैगरी वडा र नगर कार्यालयबीच आन्तरिक सर्भर जडान गरिएपछि कागजको काम त घटेको छ नै, सबै वडामा एकैपटक सूचना, निदे्शन, चिठीपत्र पुर्याउन र वडाका जानकारी क्षणभरमै लिन पनि सजिलो भएको छ ।
नगरले जडान गरेको इन्ट्ररनेटको सुविधाले मासिकरूपमा इन्टरनेटमा भइरहेको मोटो खर्च ह्वात्तै घटाएको नगरका सूचना प्रविधि अधिकृत संजय घिमिरेको भनाइ छ ।
नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउका लागि छिट्टै नै अन्य कार्यालयमा पनि यो सुविधा पुर्याउने लक्ष्य नगरपालिकाको रहेको छ ।
“








प्रतिक्रिया दिनुहोस्