काठमाडौं, असोज ११ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा काठमाडौं उपत्यकाबाट दैनिकरुपमा निस्कने फोहरबाट उर्जा उत्पादन गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।
नेपाली कांग्रेसका धनराज गुरुङद्वारा प्रस्तुत् सो प्रस्तावलाई सोही दलका बद्रीप्रसाद पाण्डे र जीवन परिवारले समर्थन गरेका थिए ।
सो प्रस्तावमा उपत्यकाबाट दैनिक ६८९ टन फोहर उत्पादन हुने गरेको र यसको व्यवस्थापनमा अर्बौं खर्च हुने गरेको परिपे्रक्ष्यमा फोहर उपयोग गरी नवीकरणीय उर्जालगायत जैविक मलसमेत उत्पादन गर्न सकिने भएकाले फोहरबाट उर्जा उत्पादन गर्ने कार्य प्रारम्भ गर्न आवश्यक भएको जनाइएको छ ।
प्रस्तावमाथि रेवतीरमण भण्डारी, योगेन्द्र तामाङ घिसिङ, जेबी टुहुरे, प्रेम सुवाल, राजेन्द्रकुमार केसी, रामवीर मानन्धर, रामहरि खतिवडा, रामेश्वर ढुंगेल र प्रतीक्षा तिवारी मुखियाले फोहरबाट उर्जा उत्पादन गर्न सरकारले नयाँ नीति ल्याउनुपर्नेमा जोड दिए ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले फोहरबाट उर्जा उत्पादनमा जोड दिएको र काठमाडौं महानगरपालिकाले टेकुमा उर्जा उत्पादनको नमुना परीक्षण गरिरहेको जानकारी दिए ।
व्यवस्थापिका–संसदको अर्काे बैठक बुधबार बिहान ११ बजे बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्