काठमाडौं, चैत २३ । यो वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिने आरोही समूहको संख्या ४६ पुगेको छ ।
४६ समूहबाट यो वर्ष १९३ जनाले विभिन्न हिमाल आरोहण गर्नेछन् ।
४६ आरोही समूहका आरोहीबाट अहिलेसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रुपैयाँ ‘रोयल्टी’ जम्मा भएको पर्यटन विभागले जनाएको छ ।
यीमध्ये सर्वोच्च शिखर सगरमाथाबाटमात्रै २३ करोड ९२ लाख ५७५ रुपैयाँ रोयल्टी उठेको छ ।
सगरमाथा आरोहणका लागि १९ आरोही समूह त्यसतर्फ गएका छन् । सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ ।
कन्चनजंघा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई/दुई समूहले अनुमति पाएका छन् ।
विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाकाअनुसार आरोही आउनेक्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ ।
सन् २०१८ को यही मौसम वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह थिए ।
सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल १३ सयभन्दा बढी रहेको बताइन्छ ।









प्रतिक्रिया दिनुहोस्