मानबहादुर वली (इमेज)
सुर्खेत, चैत २३ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ ।
औपचारिकरूपमा ‘ब्रेक थ्रु’ भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजनाले जानकारी दिएको छ ।
आयोजना प्रमुख सञ्जीव बरालले प्रधानमन्त्रीसँग आउँदो वैशाख ३ गतेका दिन ‘ब्रेक थ्रु’ गर्नका लागि समय मागिएको जानकारी दिए ।
भेरी–बबई आयोजना टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा निर्मित नेपालको पहिलो आयोजना हो ।
१२ हजार २०० मिटर लामो सुरुङ निर्माणको जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले लिएको छ ।
निर्माण सामग्री समयमै प्राप्त हुनुका साथै टनेल बोरिङ मेसिनले काम गरेकाले पनि आयोजना निर्माण तोकिएको मितिभन्दाअघि नै सकिएको आयोजना प्रमुख बरालले जानकारी दिए ।
२०७२ जेठ २१ गते सुरुङ खन्न सुरु गरेको कम्पनीसँगको निर्माण सम्झौताको म्याद २०७६ चैत १५ गतेसम्म थियो । तर, एक वर्षअगावै सुुरुङ निर्माणको काम सकिएको छ ।
बहुउद्देश्यीय आयोजनाबाट भेरीको पानी बबईमा मिसाएर बाँके–बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र सुर्खेत–भेरीगंगा नगरपालिकाको हात्तीसारमा विद्युत्गृह निर्माण गरी ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
पहिलो चरणअन्तर्गत् पर्ने सुरुङ निर्माणको काम सकिएसँगै आयोजनाले दोस्रो चरणको प्रक्रिया सुरु गरेको छ ।
सिभिल, इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकल निर्माणसँगै जडानलगायतका कामलाई पनि आयोजनाले उच्च प्राथमिकता दिँदै काम गरेको छ ।









प्रतिक्रिया दिनुहोस्