काठमाडौं, असोज ११ । नेकपा एमालेले संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान सन्चालन गर्ने भएको छ ।
मंगलबार राजधानीमा सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्रहरुबाट मुलुकलाई जोगाउँदै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउनका लागि भन्दै अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।
एमालेले संविधान कार्यान्वयनका लागि देशभर जनपरिचालनका विभिन्न अभियानसँगै सातओटै प्रदेशमा जनसभा गर्ने जनाएको छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले कात्तिकबाट सुरु हुने जनपरिचालन अभियानले संविधानबारे फैलाइएका भ्रमहरुको अन्त्य गर्ने बताए ।
एमालेले उपयुक्त आधार र औचित्यबिना संविधान संशोधन गर्न नसकिने पनि स्पस्ट पारेको छ ।
बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीे ‘संविधान संशोधन हुनसक्ने गतिशील दस्तावेज भएपनि कसैलाई मन नपर्दैमा यसको संशोधन हुन नसक्ने’ बताए ।
‘रोइरहेको बच्चालाई चकलेट दिएर फकाएजस्तो कसैलाई फकाउनकैनिम्ति र सत्तामा जान गरिएको कबुलियतालाई वैधानिकता दिन संविधान संशोधन गर्न नसकिने’ उनको भनाइ थियो ।
बैठकले भारत भ्रमणकाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक मामिलामा बाह्य संल्घनतालाई निम्तो गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
विगत सरकारले संसदमा प्रस्तुत् गरेको संविधान कार्यान्वय कार्यतालिकालाई लत्याइएको भन्दै एमालेले संविधान कार्यान्वयनका लागि निर्वाचनको तयारीलाई तीव्रता दिन पनि माग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्