फाइल फोटो
काठमाडौं, असोज १२ । व्यवस्थापिका–संसदमा सांसदहरुले बुधबारको बैठकको शून्य समयमा बोल्दै मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद अइन्द्रसुन्दर नेम्वाङले बेर्सेनि विषालु च्याउ खाएर सर्वसाधारणको ज्यान गइरहेकाले यसप्रति सरकारले विशेष ध्यान दिनुपर्ने तथा यसको दीर्घकालीन समाधानको उपायको खोजी गर्नुपर्ने बताए ।
सांसद अञ्जली श्रेष्ठले पृथ्वी राजमार्गमा दुर्घटना बढ्दै गएको सम्बन्धमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद अञ्जना चौधरीले पश्चिम तराईमा बाढीपीडितको पुनःस्थापनाका लागि कुनै सरकारी पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै, सांसद अनिता देवकोटाले निरंकुश शासकझैं नेपाली भाषामा हस्तक्षेप भएको र यसले भाषाका क्षेत्रमा अराजकता र अन्यौलता सिर्जना भएको बताइन् ।
सांसद अनुराधा थापामगरले राजधानीका सडकका दुर्दसाले जनताले सास्ती खेप्नुपरेको भन्दै सडक सुधारका लागि सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद आनन्दी पन्तले टीकापुर घटनाकाबारेमा अपराधीलाई कारबाहीको सट्टा सफाइ दिने कार्यको विरोध गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरिन् ।
सांसद आशा यादवले बाढीबाट पूर्वी तराईको सिमानामा हजारौं बिगाहा जमिन कटानमा परेको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद कमलाकुमारी घिमिरेले सरकारको सूचीमा नपरेका भूकम्पपीडितले सरकारी सुविधा पाउन नसकेको गुनासो गर्दै तत्काल छानबिन गरी यसको समाधान गर्न आग्रह गरिन् ।
सांसद कलसादेवी महराले कन्चनपुरमा एकहुल जंगली हात्तीको बथानले धानबाली नस्ट गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद काशीनाथ अधिकारीले कुनैपनि घटनाकाबारेमा सरकारले आयोग बनाउने र ती आयोगले दिएको प्रतिवेदनको कार्यान्वयनमा बेवास्ता गर्ने भएकाले कुनैपनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको बताए ।
सांसद केदारप्रसाद सन्ज्यालले दैनिकजसो हुने सडक दुर्घटनाका कारणको खोजी गरी यसको न्यूनीकरणका लागि पहल गर्न सरकारसँग आग्रह गरे ।
सांसद केशरी घर्तीमगरले चाडबाडकाक्रममा बढ्दै गएको दुर्घटनाकाबारेमा सरकारसँग उचित व्यवस्थापन गर्न माग गरिन् ।
सांसद कौसर साहले सार्वजनिक यातायातमा महिला बढी पीडित हुने भएकाले त्यसतर्फ ठोस कदम चाल्न सरकारसँग आग्रह गरे । रासस





प्रतिक्रिया दिनुहोस्