काठमाडौं, असोज १२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले ‘१५ वर्षसम्म भारतसँगमात्र पेट्रोलियम पदार्थ आयात’ गर्नेबारे संसदलाई जानकारी दिन माग गरेका छन् ।
व्यवस्थापिका–संसदको बुधबारको बैठकमा बोल्दै एमाले सांसदहरुले विश्वव्यापीरुपमा व्यापारीकरण बढ्दै गएको अवस्थामा यस्तो सहमति स्वीकार्न नसकिने बताएका हुन् ।
एमाले सांसद कृष्णभक्त पोखरेलले दसैंअघि नै नारायणघाट–मुग्लिन सडकखन्डलाई सुरक्षित बनाउन माग गरे ।
नेपाली कांग्रेसका सांसद भरत शाहले मानवअंग प्रत्यारोपणसम्बन्धी ऐन बनेपनि नियमावली नबन्दा यस्ता रोगका पीडितले उपचार गर्न नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारु–मधेस आन्दोलनमा सहभागी भएकाहरुलाई लगाइएको मुद्दा फिर्ता लिन माग गरे ।
एमालेले गरेको झापा विद्रोहलगायतका सबै राजनीतिक आन्दोलनकाक्रममा लगाइएका मुद्दा यसअघि पनि फिर्ता दिइएको भन्दै उनले थारुका लागिमात्र मुद्दा लगाउने कुरा स्वीकार्न नसकिने बताए ।
संसदको शून्य समयमा सांसदहरुले आ–आफ्ना क्षेत्रका समस्यबारे कुरा उठाएका थिए ।
बैठकमा राष्ट्रिय दलित आयोग र समावेशी आयोग विधेयक पेश गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्