
काठमाडौं, चैत २३ । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत् जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो ।
महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो बानेश्वरदेखि सिनामंगलसम्म, पिंगलास्थानदेखि गौशालाचोकसम्म, कोटेश्वर वरिपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलंकीसम्म, चाबहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाउन लागेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यही चैत २१ गतेदेखि नै उक्त अभियान सन्चालन गरिएको जानकारी दिए ।
महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि प्रदूषण नियन्त्रण गर्ने, करिडोर खोल्ने, जेब्राक्रसिङ र लेनलाई विशेष व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, आकाशेपुल निर्माण गर्ने, ट्राफिक भोलेन्टिर निर्माण गर्नेलगायत कार्ययोजना अगाडि सारेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक फुटपाथ अतिक्रमण हटाएसँगै ट्राफिक व्यवस्थापनमा सुधार आउने बताए ।
‘सडक र सडकका किनारामा जथाभावी पसल राख्दा वा पार्किङ गर्दा सवारी जाम हुने गरेको छ । सडक फुटपाथ अतिक्रमण हटेसँगै जाम घट्ने विश्वास हामीले लिएका छौं’–उनले भने ।
यातायात व्यवस्था विभागकाअनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी–साधन सन्चालनमा छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारी–साधन काठमाडौं उपत्यकामा सन्चालित छन् । रासस
प्रतिक्रिया दिनुहोस्