Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नेपालका गाउँमा निर्मित खाँडीका कपडा लोप हुँदै


0
Shares

धनकुटा । स्थानीय कच्चा पदार्थ र परम्परागत प्रविधिबाट निर्मित खाँडीका कपडा पछिल्लो समय प्रयोगमा निकै कम आउन थालेका छन् ।

निर्माण गर्न पनि निकै मिहिनेत लाग्ने र तुलनात्मक रुपमा महंगो पर्ने भएकाले यस्ता कपडाको व्यवसाय संकटमा पर्दै गएको हो ।

करिब चार दशकअघि सम्म धनकुटाको खाल्सा क्षेत्रमा प्रत्येक घरमा खाँडीको कपडा बुन्ने तान भेटिन्थ्यो ।

आर्थिक अभाव र बजारको पहुँच नहुँदा यस्ता कपडाहरु धेरैले प्रयोग गर्दथे कपास उत्पादन गरी त्यसको धागोबाट सर्ट, कोट, पाइन्ट, धोति, पटुकालगायतका कपडाहरु निर्माण गरिन्थ्यो ।

तत्कालीन समयमा बजारको पहुँच नहुने र आर्थिक अभावको स्थिति रहेकाले सबै कपडाको विकल्पमा खाडीका कपडा प्रयोग गर्ने गरेको सहिदभूमि गाउँपालिकाकी स्थानीय डिकमाया राईको भनाइ छ ।

पछिल्लो समय गाउँगाउँमा समेत बजारको विकास भई ग्रामीण क्षेत्रमा पनि खाँडी कपडाको स्थान आयातीत कपडाले ओगटेको छ ।

आयातीत कपडा निकै सस्तो पर्ने भएकाले प्राकृतिक रुपमा निर्मित खाँडीका कपडाहरु लोप हुन थालेका छन् ।

यद्यपि सौखिन कतिपय व्यक्तिहरुले भने यसको प्रयोग अहिले पनि गर्न रुचाउँछन् ।

सहिदभूमि गाउँपालिकाले यस्ता कपडाको उत्पादनलाई निरन्तरता दिनको लागि नयाँ पुस्तालाई तालिम पनि दियो र त्यसैअनुसार नयाँ कपडाहरु उत्पादन पनि भइरहेका छन् ।

तर आयातीत कपडाहरुको लागत निकै सस्तो पर्ने भएकाले यहाँ उत्पादित कपडा बिक्री हुन नसकेको छिन्ताङ्ग महिला समाजकी अध्यक्ष प्रभा पराजुली राई  बताउँछिन ।

उसो त यो कपडा उत्पादन गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ । खाल्सा क्षेत्रमा मात्र अहिले पनि १०० भन्दा बढीले खाडी कपडा उत्पादन गदै आएका छन् ।

तर बजारमा खाँडीजस्तै देखिने अन्य कपडा सस्तैमा पाउने भएकाले पनि बजारको समस्या हुन थालेको हो ।