
भरतपुर, चैत २२ । चितवनमा एउटै परिवारका तीनजनाले एकै ठाउँमा ‘आत्महत्या’ गरेका छन् ।
भरतपुर महानगरपालिका–१८, शशीनगरस्थित सहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले ‘आत्महत्या’ गरेका हुन् ।
घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुन्डिएर ‘आत्महत्या’ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।
एकै स्थानमा तीनजनाले ‘आत्महत्या’ गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए ।
उनीसहितको प्रहरी टोली अहिले घटनास्थलमा छ ।
मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत् रहेका छन् ।
आमाले नै छोराछोरीलाई झुन्ड्याएर आफूले पनि झुन्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशंका छ ।
दुर्घटनामा दुई गम्भीर घाइते
भरतपुरमा बिहीबार राति भएको सवारी दुर्घटनामा दुई गम्भीर घाइते भएका छन् ।
काठमाडौंबाट भरतपुर आउँदै गरेको ना७ख ३५०७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ना२८प ५५२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट स्कुटरचालक भरतपुर महानगरपालिका–११, बसेनी बस्ने ३६ वर्षीय नवराज सिलवाल र मोटरसाइकल पछाडि सवार उनका सात वर्षीय छोरा निर्दोष तिमिल्सिना गम्भीर घाइते भएका हुन् ।
घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
गाडीका चालक फरार छन् भने सहचालक प्रहरी नियन्त्रणमा छन् । रासस
प्रतिक्रिया दिनुहोस्