
हरि शर्मा (इमेज)
नवलपरासी, चैत २२ । भारतीयहरुको ज्यादती सहँदै आएका नवलपरासीको सुस्तावासीले आफूहरुका समस्याप्रति सरकार उदासीन भएको गुनासो गरेका छन् ।
भारतीयबाट अतिक्रमित जमिन फिर्ता गरी सीमाक्षेत्रमा पिलर स्थापना गर्न सरकारसँग पटक–पटक माग गरे पनि बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
पश्चिम नवलपरासीको सुस्ता क्षेत्र भारतीयबाट अतिक्रमणको चपेटामा परेको नेपाली भूमि हो ।
कुल ४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमध्ये ७ हजार हेक्टर जमिनमात्र सुस्तावासीको अधिनमा छ ।
१४ हजार हेक्टर विवादित क्षेत्रबाहेकको २० हजार हेक्टर जमिन भारतले अतिक्रमण गरिसकेको छ ।
२६५ घरधुरी रहेको यस क्षेत्रमा करिब तीन हजार ४०० बढी जनसंख्या छ ।
अतिक्रमण गरिएको जमिन फिर्ता पाउनुपर्ने र सीमा विवाद टुंग्याउनुपर्ने सीमांकनको माग गर्दै पटक–पटक सिंहदरबारमा धर्नादेखि अनशनसमेत बसिसकेका छन् ।
पटक–पटक मन्त्री र सांसदबाट आश्वासन पाएका उनीहरुको समस्या भने अहिलेसम्म ज्यूँका त्यूँ छ ।
आफ्नै भूमिमा बस्दा पनि कैयौंपटक भारतीयबाट लखेटिएका र धपाइएका उनीहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका सुविधाबाटसमेत बन्चित रहेका छन् ।
सरकारले पनि नागरिकता नदिएर आफूलाई दोस्रो देशका नागरिकको व्यवहार गरेको उनीहरुको दुखेसो छ ।
डुंगा चलेको बेलामा नारायणी नदीबाट आफ्नो गाउँमा जान सकिने भएपनि डुंगा नचलेका बखत भारतीय भूमि हुँदै घरमा पुग्नुपर्ने बाध्यता छ ।
नारायणीमा पुल नबनेकाले पनि सुस्तावासीलाई थप समस्या र सास्ती भइरहेको छ ।
पछिल्लो समय शान्ति–सुरक्षाका लागि सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीको सीमाचौकी रहेकाले उनीहरु केही सुरक्षित बनेका छन् ।
आफ्नै भूमिमा बस्दा पनि विभिन्न किसिमका डर–धम्की, त्रास र अपमान सहँदै आएका उनीहरुको समस्यालाई दीर्घकालीनरुपमै निराकरण गर्न सरकारले ठोस कदम चाल्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्