
अनिल तिवारी (इमेज)
वीरगन्ज, चैत २१ । हावाहुरीबाट सबैभन्दा बढी प्रभावित बनेका बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीयावासीको अवस्थामा अझै सुधार आउन सकेको छैन ।
पीडितका लागि नेपाली सेना र नेपाल प्रहरीले टहरा निर्माण गरिरहेका छन् ।
हावाहुरीबाट प्रभावित भएकाहरुलाई विभिन्न संघ–संस्थाले राहत उपलब्ध गराउँदै आएका छन् ।
तर, राहत वितरण गर्नेहरु मुख्य सडक आसपासमामात्र पुग्दा भित्रि बस्तीका प्रभावितहरु भने अझै त्यसबाट विमुख छन् ।
विनाशकारी हावाहुरीले घरमात्र भत्किएको छैन, घरसँगै सबै सपनासमेत चकनाचुर बनेको छ ।
आँधीबेहरीले सबैभन्दा बढी क्षति पुगेको स्थान फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया नै हो । यहाँ १४ जनाले ज्यान गुमाएका छन् भने ५०० भन्दा बढी घाइते भएका छन् । आँधीबेहरीले ५०० घर नस्ट भएका छन् भने हजारौं बेघर छन् ।
पीडितहरु विभिन्न संघ–संस्थाले उपलब्ध गराएको अस्थायी पालमा बसिरहेका छन् । केही अझै पाल नै कुरिरहेका छन् ।
उनीहरु दिनभर भत्किएको घरबाट सामान निकाल्न र राहतका सामाग्री बटुल्नै व्यस्त देखिन्छन् ।
प्रभावित क्षेत्रमा प्रहरी र सेनाले पीडितका लागि अस्थायी टहरा निर्माणसमेत गरिरहेका छन् ।
अर्कोतर्फ प्रभावित क्षेत्रमा सन्चालन गरिएका स्वास्थ्य शिविरले भने पीडितलाई निकै राहत मिलेको छ ।
प्रभावित क्षेत्रको अवस्था निकै कस्टकर छ । सामूहिक मेसमा खानाको प्रबन्ध भएपनि सामान्य चिउरा, चाउचाउ र बिस्कुटबाहेक अरु केही नपाएको गुनासो अधिकांशको छ ।
राहत बाँड्न गाउँमा आउनेले सडकछेउछाउका प्रभावितलाई दिँदै हिँडेकाले भित्रि गाउँ र टोलका पीडित छुटेको उनीहरुको गुनासो छ ।
विभिन्न तहबाट लाखौं रुपैयाँ सहयोगको कुरा सुनेका पीडित रात बिताउन एउटा त्रिपाल र झुलको आशमा दिनभरि आँखा बिछ्याउँछन् ।
दिनभर भीआइपीका गाडीले उडाएको धुलो साँझतिर मत्थर हुँदै जान्छ । तर, पीडितको छट्पटी भने बढ्न थाल्छ ।
प्रतिक्रिया दिनुहोस्