
काठमाडौं, चैत २१ । प्रदेश नम्बर–२ मा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि स्थगित गरिएको एसइई परीक्षा शुक्रबार (भोलि)देखि पुनः हुने भएको छ ।
अंग्रेजी, गणित र नेपाली विषयको परीक्षा भइसकेपछि त्यसपछिका विषयको प्रश्नपत्र बाहिरिएपछि रोकिएको परीक्षा शुक्रबारदेखि पुनः सन्चालन गर्न लागिएको हो ।
सुरक्षा व्यवस्था कडा
परीक्षाका लागि सरकारले सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरका परीक्षा नियन्त्रक विष्णु अधिकारीले प्रश्नपत्रहरु थप सुरक्षाका साथ सिलबन्दी गरेर सम्बन्धित केन्द्रहरुमा पठाइएको जानकारी दिए ।
प्रदेश–२ का ७० हजार ५६८ परीक्षार्थी परीक्षामा सामेल हुनेछन् ।
‘हावाहुरी प्रभावित क्षेत्रमा एसइई परीक्षा दिनेहरु छैनन्’
यस्तै, बारा र पर्साका हावाहुरीबाट प्रभावित क्षेत्रमा एसइई परीक्षा दिनेहरु नै नभएकाले परीक्षा सन्चालन गर्न कुनै समस्या नहुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यही चैत १० गतेदेखि सुरु भएको एसइईको परीक्षामा तीनओटा विषयको परीक्षा सकिएपछि बाँकी विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
त्यसबारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र राष्ट्रिय परीक्षा बोर्डले अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्