
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिश गरिएका पाँच जनाविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ ।
समितिको आज बसेको बैठकले सर्वोच्च अदालतमा न्यायाधीशका लागि न्यायपरिषद्ले सिफारिश गरेको पाँच जनाबिरुद्ध कुनै उजुरी वा गुनासो भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक आह्वान गरेको हो ।
यही चैत १८ गते बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्मालाई सिफारिश गरेको थियो ।
उजुरी आह्वानसँगै सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिश भएकाहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ ।
परिषदले सर्वोच्चमा पाँच जना न्यायाधीशका साथै उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो ।
परिषदले राजनीतिक प्रभाव, नातागोता र विभिन्न कालखण्डमा खराब आचरण गरेको अभियोग लागेकालाईसमेत नियुक्तिको सिफारिश गरेको भन्दै निर्णयको आलोचना भएको छ ।
नेपाल बारका पूर्व अध्यक्षहरुले त त्यस्ता न्यायाधीशको इजलाश नै बहिष्कार गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्