-सञ्जय कार्की/ईमेज
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८ मा वस्ती हटाएर रेलमार्गको सबस्टेशन बन्ने भएपछि स्थानीयवासी चिन्तित बनेका छन् ।
पूर्वाधारको विकास भएको घनाबस्ती नै विस्थापित गर्नुभन्दा अन्य खाली क्षेत्रमा विकल्प खोज्नुपर्ने भन्दै स्थानीयवासी असन्तुष्ट बनेका हुन् ।
मेची महाकाली विद्युतीय रेलमार्गको शवस्टेसन बन्ने भएपछि रौतहटको चन्द्रपुर ८ का स्थानीयवासी आफूहरुलाई सुकुम्बासी बनाउन खोजेको भन्दै विरोधमा उत्रिएका छन् ।
सदिंयौंदेखि स्थापना भएका मोतीपुर, डाँडाबारी, मुसहर र हातीसारका बस्तीलाई रेलमार्गको शवस्टेशन बनाउन जग्गा अधिग्रहणको सूचना प्रकाशित भएपछि स्थानीय चिन्तित बनेका हुन् ।
५ सय ५१ घरधुरी रहेको उक्त क्षेत्रमा १ सय २० बिगाह जमिन रहेको छ । बस्तीमा आधारभुत विकासका पूर्वाधार पनि निर्माण भएका हुँदा विकासका नाममा अर्को विध्वंश गर्न नहुने स्थानीयको तर्क छ ।
चन्द्रपुर नगरपालिकाका वडा नम्बर पाँचका अध्यक्ष सञ्जय काफलेले पनि घनाबस्ती नै विस्थापित गर्नुको सट्टा खाली स्थानमा स्थानमा सबस्टेशन बनाउदा सबैको भलाइ हुने धारणा राख्छन् ।
दलित समुदायको बाहुल्यता भएको सो क्षेत्रका स्थानीयले आफूहरुलाई विस्थापित गरेर सरकारले सुकुम्बासी बनाउन खोजेको गुनसो गरेका छन् ।
उता मेची महाकाली विद्युतीय रेल्वे साईट अफिस बर्दिबासका ईन्जिनियर किरण कार्की भने ४/५ वर्षअघि नै तयार भएको डिपीआरको आधारमा काम अगाडि बढाइएको र मानवबस्तीमा परेको भए त्यसलाई सुधार गर्न सकिने बताउँछन् ।
अरु खाली क्षेत्रको विकल्प मिलेसम्म बसोबास भइरहेको घना बस्ती नहटाउनु नै बेश हुन्छ ।
अर्कोतिर यस क्षेत्रको जग्गा अधिग्रहण गर्दा मुआब्जामा ठुलो धनराशी खर्च हुने निश्चित छ ।
यस विषयमा गम्भीरतापूर्वक अध्ययन गरी दीर्घकालीन हित हुने गरी काम अगाडि बढाउन आवश्यक देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्