Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संविधान संशोधन र कार्यान्वयनबारे दलहरुको आ–आफ्नै धारणा


0
Shares

काठमाडौं, असोज २८ । संविधान संशोधन र कार्यान्वयनका विषयमा राजनीतिक दलका नेताहरुले फरक–फरक धारणा सार्वजनिक गरेका छन् ।

राजधानीमा शुक्रबार गरिएको साक्षात्कारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताए ।

मन्त्री शाहीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउनुपर्ने बताए । दलीय सहमति नभइ सरकारले मात्र जबरजस्ती संशोधनको प्रस्ताव नल्याउने उनको भनाइ थियो ।

नेकपा एमालेका नेता लालबाबु पण्डितले भने संविधान संशोधनभन्दा पनि अहिले कार्यान्वयन गर्नुपर्ने बेला भएको बताए । उनले मुलुकलाई दुर्घटनाबाट बचाउन संविधान कार्यान्वयन गर्नुपर्ने जिकिर गरे ।

अरुको उक्साहटमा संविधान जलाउन खोज्नेहरुले संविधान संशोधनको माग गरेर संविधान कार्यान्वयन गर्न नदिने षडयन्त्र गरिरहेको उनको भनाइ थियो ।

नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले छठ अघि नै संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी सरकारले गरिरहेको जानकारी दिए । उनले असन्तुष्ट पक्षका माग सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारे ।

संविधान संशोधनका लागि सबै दल एकमत हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले बाहिर हल्ला भएजस्तो मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नहुने दाबी गरे । उनले सरकार गठन भएको एक सय दिन पनि नपुग्दै समर्थन फिर्ता लिन नैतिक रुपमा असम्भव हुने बताए ।

Skip This