Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सरकारविरुद्ध झुटको शृंखला चलेको भन्दै प्रधानमन्त्री दुःखी


0
Shares

काठमाडौं, चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारविरुद्ध झुटो प्रचारको शृंखला नै चलेको भन्दै दुःख व्यक्त गरेका छन् ।

समाजवाद र अझै बढी लोकतन्त्रको बाटोमा लम्केको सरकारलाई अधिनायकवादतर्फ हिँड्यो भन्दै प्रचार थालिएको उनको भनाइ थियो ।

योजनाकार र बुद्धिजीवीलाई आग्रह

बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गफ गर्न नभइ काम गर्नका लागि बनेको जिकिर पनि गरे ।

पाँच वर्षभित्र मुलुकबाट भोकमरी अन्त्य गर्नेगरी योजना बनाउन उनले योजनाकार र बुद्धिजीवीहरुलाई आग्रह पनि गरे ।

निर्यात बढाउने योजना

समतामूलक समाज निर्माण गर्न तीव्रगतिले सरकार लागेकाले अधिनायकवादको नाराले कोही नअल्झने उनको भनाइ थियो ।

सरकार गरिबी न्यूनीकरण गर्ने दिशामा जुटेको भन्दै उनले १५औं आवधिक योजनाको अन्त्यसम्ममा देशबाट निरक्षरता पूर्णरुपमा उन्मूलन गरिने दाबी पनि गरे ।

निरक्षरता उन्मूलन गर्ने, स्वच्छ खाद्यवस्तु उत्पादन गर्ने, ठूलो मात्रामा वस्तु उत्पादन गरेर निर्यात बढाउने सरकारको योजना रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्राविधिक र जीवनोपयोगी शिक्षा प्राथमिकतामा

सरकारले पुँजी र प्रविधिमा आधारित विकास गर्ने भन्दै उनले यान्त्रिकीकरणको विकासमा पनि जोड दिने बताए ।

सीप विकास र व्यावसायिक शिक्षामा जोड दिने सरकारी नीति रहेको भन्दै उनले प्राविधिक र जीवनोपयोगी शिक्षा प्राथमिकतामा रहेको पनि बताए ।

विकास परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५औं योजनाको आधारपत्रको मस्यौदा पेस गरिएको छ । बैठक बिहीबार सकिनेछ ।