Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


बानेश्वरमा श्री देवीभागवत नवाह पुराण बृहद् भक्तिमहायज्ञ हुँदै


0
Shares

काठमाडौं । नेपाल पूजा प्रतिष्ठानको आयोजनामा यही चैत्र २३ गते शनिबारदेखि २०७६ साल बैशाख २ गतेसम्म श्री देवीभागवत नवाह पुराण बृहद् भक्तिमहायज्ञ हुँदैछ । 

काठमाडौंको बानेश्वर हाइटमा रहेको सानो गौचरणमा भक्तिमहायज्ञ हुन लागेको हो ।

भक्तिमहायज्ञको तयारी अन्तिम चरणमा पुगेको भक्तिमहायज्ञ मूल समारोह समितिका संयोजक एवं प्रतिष्ठानकी अध्यक्ष मञ्जु शर्मा पौड्यालले जानकारी दिइन ।

महायज्ञको सह आयोजकहरुमा बानेश्वर सानो गौचरण समाज, बाणेश्वर महादेवस्थान संरक्षण तथा व्यवस्थापन समाज तथा पञ्चकुमारी श्रद्धा प्रतिष्ठान रहेका छन् । 

नेपालको धर्म, संस्कृति, परम्परा, रीतिस्थित, सनातनदेखि चलिआएका धार्मिक क्रियाकलाप तथा बैदिक सनातन धर्मको संरक्षण एवं सम्बर्धन गर्दै आपसी सद्भावको अभिबृद्धि गराउन भक्तिमहायज्ञको आयोजना गरिएको प्रतिष्ठानका महासचिव मुरारी बिनोद पोख्रेलले जानकारी दिए । 

देवीभागवत नवाह पुराण बृहद् भक्तिमहायज्ञ बानेश्वर क्षेत्रमै पहिलो पटक आयोजन गर्न लागिएको आयोजक समितिले जानकारी दिएको छ । 

यस अभियानमा सबै इच्छुक महानुभावहरु सहभागी हुन सक्ने छन् ।

प्रतिष्ठानले बानेश्वर क्षेत्रका सबै घर परिवारका सम्पूर्ण सदस्यहरुलाई यस अभियानमा सहभागी भएर लाभ उठाउन आग्रह समेत गरेको छ ।

भक्तिमहायज्ञको यज्ञाचार्यमा प्राध्यापक श्री भवानीप्रसाद खतिवडा, बाचकमा आचार्य श्री ख्यामराज घिमिरे र उप बाचकमा पण्डित त्रिलोचन खतिवडा छन् ।

कार्यक्रमको लागत २० देखि २५ लाखसम्म लाग्ने अनुमान प्रतिष्ठानको छ । इच्छुक, श्रद्धालु भक्तजनले बृहद् भक्तिमहायज्ञमा सहयोग गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।