२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र


0
Shares

काठमाडौं । गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई आवश्यक प्रक्रिया पुर्‍याइ वंशजको नागरिकता दिन परिपत्र गरेको छ ।

सबै जिल्ला प्रशासन कार्यालयमा गरिएको परिपत्रमा उमेर पुगेका नागरिक नागरिकताबाट वञ्चित हुँदा शैक्षिक तथा अन्य वृत्ति विकासमा समेत समस्या भएको भन्दै प्रशासनिक निर्णय गरिएको जनाइएको छ ।

मन्त्रिस्तरीय निर्णयलाई टेकेर उपसचिव गंगाप्रसाद न्यौपानेले मंगलबार ७७ वटै जिल्लामा परिपत्र प्रेषित गरेका हुन् ।

जसमा ‘नेपालको संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा नेपाल नागरिकता ऐन २०६३, नेपाल नागरिकता नियमावली २०६३ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनु पर्ने कार्यविधि प्रक्रिया अपनाइ जे जो बुझ्नुपर्छ बुझी उपयुक्त देखिएमा वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने भनी यस मन्त्रालयबाट मिति २०७५–१२–१९ मा निर्णय भएकोले निर्णयानुसार गर्न हुन अनुरोध गर्दछु’ भनिएको छ ।

२०६३ सालमा संशोधित नागरिकता ऐन बमोजिम सरकारले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानको हकमा २०६५ मंसिर १० सम्म निवेदन दिएकाहरुलाई वंशजको नागरिकता दिएको थियो । त्यसयता भने जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाएका थिएनन् ।

नेपालको संविधानले संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई पनि वंशजका आधारमा नागरिकता दिने उल्लेख गरेको छ । यस अनुसार ०७२ असोज ३ अघि जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने भएका हुन् ।

यद्यपि, संवैधानिक व्यवस्था अनुसारको नागरिकता ऐन संशोधनको चरणमै छ । विधेयक सात महिनादेखि संसदमा अड्किरहेको भएपनि गृह मन्त्रालयले भने यो परिपत्र गरेको हो ।

विधेयकमा गरिएको अंगीकृत नागरिकताको व्यवस्था र नागरिकता कसुरमा हुने सजायँबारेमा दलहरुबीच विवाद सुल्झिएको छैन ।