
बिराज रोस्यारा (इमेज)
कैलाली, चैत १९ । भारतीय सिमानासँग जोडिएको कन्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासको आनन्दबजारमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोस्ट’ स्थापना गरिएको छ ।
विगत दुई वर्षदेखि यहाँ अस्थायी पोस्ट रहँदै आएको थियो । मंगलबार औपचारिकरूपमा स्थायी कार्यालयको उद्घाटन गरिएको हो ।
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको उपस्थितिमा सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक भीमबहादुर थापा र पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा विष्टले संयुक्तरूपमा बीओपीको उद्घाटन गरेका हुन् ।
योसँगै कन्चनपुरमा सशस्त्र प्रहरीका चारओटा बीओपी भएका छन् ।
भारतीय सीमानाकाबाट अवैध सामानको ओसार–पसार, सीमा सुरक्षा तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न स्थानीय निकायको पहलमा बोर्डर आउट पोस्ट स्थापना गरिएको एसएसपी थापाले बताए ।
सोही स्थानमा २०७३ साल फागुन २६ गते भारतीय सुरक्षाकर्मीले प्रहार गरेको गोली लागी पुनर्वास नगरपालिका–४ बस्ने गोविन्द गौतमको मृत्यु भएको थियो । पछि गौतमलाई सहिद घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्