काठमाडौं, चैत १६ । नेपाल लगानीका लागि उपयुक्त रहेको यहाँ लगानी गरिरहेका विदेशी लगानीकर्ताले बताएका छन् ।
लगानी सम्मेलनको दोस्रो दिनको विभिन्न सत्रमा विदेशी बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले लगानीका लागि अवसर र बजारसमेत रहेको बताएका हुन् ।
यस्तै, स्वदेशी लगानीकर्ताले यहाँ गरिएको लगानीले उच्च प्रतिफल दिने भन्दै विदेशी लगानीकर्तालाई हौसला दिएका छन् । मिलेर लगानी गर्नसमेत उनीहरुले आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, एसियाली विकास बैंक, गैरआवासीय नेपाली संघ, बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाललगायतले नेपालमा लगानीका लागि धेरै क्षेत्र रहेको बताए ।
बहुराष्ट्रिय कम्पनी डाबर भारत लिमिटेडका सार्क प्रमुख हर्कितसिंह बेदीले आफ्नो संस्थाले नेपालमा २० वर्षदेखि गर्दै आएको व्यवसायको अनुभव सुनाउँदै यहाँ लगानीका लागि प्रशस्त क्षेत्र रहेको बताए ।
यस्तै, कफी क्षेत्रमा लगानी गर्दै आएको हेस्टर बायो साइन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धीले नेपालको कफी गुणस्तरीय भएको र यसलाई विश्व बजारमा लैजान सकिने बताए ।
सरकारी अधिकारीहरुले पनि जुनसुकै क्षेत्रमा लगानीको अवसर रहेको भन्दै सुरक्षाप्रति चिन्ता नगर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।
कृषिमन्त्री चक्रपाणि खनालले नेपाल विकासशील राष्ट्र भएकाले लगानीको सम्भावना हरेक क्षेत्रमा रहेको बताए ।
उनले पर्याप्त सम्भावना र सुरक्षित वातावरण रहेको भन्दै कृषिमा लगानीका लागि आग्रह गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात पूर्वाधारमा लगानीको अवसरबारे लगानीकर्तालाई जानकारी गराए ।
सम्मेलनमा ४० देशका ६०० बढी लगानीकर्ता सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्